Thursday, August 8, 2013

दमौलीमा सि.सि. क्यामेरा जडान हुने

कृष्ण न्यौपाने-दमौली, २४ साउन । सदरमुकाम दमौलीमा पहिलो पटक सि.सि. क्यामेरा जडान हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको पहलमा दमौलीमा सि.सि. क्यामेरा जडान गरिन लागिएको हो । यही भदौ महिनाभित्र दमौलीका ८ देखि १० स्थानमा सि.सि.क्यामेरा जडान गरिने तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति बैकुण्ठनाथ मिश्रले बताए । दमौलीको मुख्य र व्यस्त स्थानहरु जिल्ला प्रशासन कार्यालय, ट्राफिक चोक, भोर्लेटार चोक, भेटघाट चोक, सुनचाँदी लाईन, सफासडकको वित्तीय संस्थाका कार्यालय अगाडी, मादीको पुल, गणेशमान चोक, सत्यवती उच्च माविको अगाडी लगायतका स्थानमा सि.सि. क्यामेरा जडान गर्ने सम्बन्धि अध्ययन भईरहेको मिश्रले बताए । ८ देखि १० स्थानमा सि.सि क्यामेरा जडान गर्न १२ लाख रुपैयाँसम्म लागत पर्ने भएको हुँदा आवश्यक रकम संकलन कार्य सुरु गरिने मिश्रले बताए । यसको लागि जिल्ला विकास समिति र व्यास नगरपालिकासँग विशेष अनुरोध गरिएको छ । साथै, उद्योग प्रतिष्ठान, वित्तीय संस्था, विभिन्न व्यवसायिक प्रतिष्ठानहरुसँग पनि सहयोग मागिने बताए । सि.सि.क्यामेरा जडान गर्ने सम्बन्धमा बिहीबार तनहुँ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा सि.सि. क्यामेरा सम्बन्धि अवधारण पत्र प्रस्तुत गर्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति बैकुण्ठनाथ मिश्रले बढ्दो शहरीकरणको विकाससँगै अपराधिक घटनामा पनि वृद्धि हुँदै गएको कारण दमौलीमा सि.सि. क्यामेरा जडान गर्नुपर्ने आवश्यकता महशुस भएको बताए । Source: Karobar Daily

Read More......