Wednesday, May 9, 2012

जुवा तास र मदिरा हटाउने अभियानमा आमाहरु

समाजमा विकृतिका रुपमा रहेको जाँडरक्सी र जुवातास हटाउन व्यास नगरपालिका वडा नं ५ शान्तिनगरका आमाहरु सक्रिय भएर लागेका छन्। पुरानाभन्दा पनि नयाँ युवा पुस्तामा उक्त वस्तुको प्रयोग बढी हुँदा समाजमा विकृति फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्न आमाहरु सङ्गठित भएर लागेका हुन्। व्यास उन्नत आमा समूह गठन गरेर शान्तिनगरको आमा समूह टोललाई जुवातास र मदिरामुक्त बनाउन सामूहिक निर्णय गरेर लागिपरेका हुन्। पुरुषहरुलाई पटकपटक आग्रह गर्दा समेत जुवातास र जाँडरक्सीको लत नछाडेपछि नियम बनाएर अभियान नै चलाइएको समूहका अध्यक्ष सुनिता पौडेलले बताइन्। उनले समाजका अगुवा नै सार्वजनिक ठाउँमा राति अबेरसम्म बसेर तास खेल्ल्ने र मदिरा सेवन गर्दा त्यसको सिको युवा पुस्ताले समेत गरेको हुँदा समाजलाई सुधार गरी जुवातास मदिरामुक्त गाउँ बनाउन लागिएको बताइन्। सो अभियानपछि जुवातास खेल्न र राति अबेरसम्म मदिरा खाएर होहल्ला गर्ने क्रम रोकिएको छ। समूहले राति ८ बजेभन्दा पछि मदिरा खाने र बेच्ने, जुवा खेल्ने र खेलाउनेलाई जरिवाना पनि तोकेको छ।
Source: Nagariknews

No comments: